उमेरसँगै समय किन छिटो बितेजस्तो लाग्छ?
उमेर बढ्दै गएपछि किन दिन छोटो र समय छिटो छिटो सकिएको जस्तो लाग्छ? अनुसन्धानहरूका अनुसार वास्तविक समय र अनुभूत समय फरक हुन्छन्। वास्तविक समय २४ घण्टाको निश्चित चक्रमा बाँधिएको हुन्छ, तर समयको अनुभूति भने हामीले जीवनभर सँगालेका अनुभवहरूले निर्धारण गर्छन्।
जस्तै, १० वर्षको बच्चाका लागि सामान्य रूपमा एक वर्ष भनेको उसको समग्र जीवन अनुभवको १० प्रतिशत हुन्छ भने ५० वर्षको उमेरमा त्यही एक वर्ष केवल २ प्रतिशत हुन्छ। यसको अर्थ, उमेर बढ्दै जाँदा हरेक नयाँ वर्षले हाम्रो समग्र जीवनको तुलनामा ओगट्ने अनुपात घट्दै जान्छ।
यससँगै आउने अर्को पक्ष हो जीवनमा नवीनताको कमी। लामो समयसम्म एकै प्रकारको रुटिनमा चल्न थालेपछि मस्तिष्कले पहिचान गर्न र भण्डारण गर्नुपर्ने नयाँ अनुभवहरू कम हुँदै जान्छन्। जीवनको भोगाइ एक प्रकारले साँघुरिन थाल्छ र मस्तिष्क अटोमेटिक मोडमा चल्न थाल्छ। यही कारणले समय बितेको पत्तै हुँदैन र समय छिटो बितेजस्तो अनुभूति हुन्छ।
अर्को कारण हो जीवनमा ठूला भावनात्मक र मानसिक अनुभवहरूको कमी। यस्ता अनुभवहरूले हाम्रो स्मरणमा गहिरो प्रभाव छोड्छन्। तर उमेर बढ्दै जाँदा मानिस धेरै अनुभवसँग परिचित र अभ्यस्त बन्दै जान्छ। स्मरणमा पर्ने प्रभाव पनि पातलिँदै जान्छ र फलतः बितेको समय छोटो महसुस हुन थाल्छ।
यी सबैसँग जोडिने अर्को पक्ष हो मानव शरीरमा पाइने डोपामिन। डोपामिनले मानिसलाई ऊर्जाशील र उत्प्रेरित बनाउन मद्दत गर्नुका साथै मस्तिष्कले समयको गतिलाई कसरी अनुभूति गर्छ भन्ने प्रक्रियामा पनि भूमिका खेल्छ। उमेरसँगै डोपामिन प्रणालीमा परिवर्तन हुँदै जाने भएकाले यसले पनि समय छिटो बितेजस्तो लाग्ने अनुभूतिमा केही भूमिका खेल्न सक्छ।
यी सबै विषयलाई ध्यानमा राख्दै अब प्रश्न आउँछ, समयको गतिलाई कम भएको जस्तो महसुस गर्न के गर्ने त?
✨ What can we do
उत्तर सहज छ। उमेरसँगै बनेका रुटिनहरूलाई बेलाबेलामा तोड्नुहोस्। जीवनमा नयाँ सीप सिक्नुहोस्, नयाँ ठाउँ घुम्नुहोस्, जिज्ञासु बन्नुहोस्। असल आहार लिनुहोस्, नियमित व्यायाम गर्नुहोस्, प्रेमिल बन्नुहोस् र पर्याप्त निद्रा पुर्याउनुहोस्। बेलाबेलामा आफूलाई नै सर्प्राइज गर्नुहोस्।
यसरी जीवनमा नयाँ अनुभवहरू थपिँदै जान्छन्। मानिस थप ऊर्जाशील र सकारात्मक बन्छ। वरिपरिको संसार फेरि नयाँ र सुन्दर देखिन थाल्छ। जीवन केवल बितिरहेको जस्तो होइन, बाँचिरहेको जस्तो महसुस हुन थाल्छ।
लेखन तथा प्रस्तुति: कैलाश पाण्डे ‘कैवल्य’
स्रोत तथा सन्दर्भ: The Independent (independent.co.uk)